deepssanu@gmail.com
काम भनेको सबै नै गारो हुन्छ l कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी तर हुन त सबैमा केहि न केहि गारो त हुन्छ नै l तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन भने सुबिधा र रम्झम अर्कैको धेरै लाग्छ l बिसेष पैसाकै निमित्त देश छोडेर टाढिएकाहरूको सवालमा र अझै न्यून कमाइमा कष्टकर शारीरिक श्रम विनिमय गर्ने अदक्ष या अर्धदक्ष कामदारको हकमा भन्ने हो भने काम काम मात्र नभएर सजायं जस्तो बन्न पुग्छ l जिन्दगीको लम्बाइमा भन्ने शब्द कसले निर्माण गर्यो होला भोगाइको शब्दकोशमा? यहि साढे तिन अक्षरको बाध्यताले मान्छेलाई हुत्यौंदै भूगोलको कुन कुन दिशामा लघार्छ र हामी उनिन्छौँ तिखो झिरमा विवश माछा उनिएझै अनेक कष्टसाध्य कामनामको सुइरोमा ।
सामान्यतया काम भनेपछि कुनै निश्चित समयावधीको लागि तोकिएको स्थानमा कसैबाट निर्दिष्ट कर्तब्य पुरा गर्नु हो l चाहे त्यो सडकमा साबेल,पिक चलाउने होस्, डोकोमा इट बोकेर बिल्डिंग नामको सगरमाथा चढ्नु होस्, ढोकामा उभिएर पहरा दिनु होस् या अशक्त बिरामी कुरेर उसको म्रुत्युमंचन हेर्नु नै किन नहोस l यस्ता तमाम काम मध्ये अधिकांश अझै भनुँ लगभग सबै काममा केवल काम र दामको सोझो साइनो हुन्छ l काम गर, पैसा थाप l तोकिएको समय कटाउ र बिदा होउ l त्यहाँ केवल श्रमको मूल्य तोकिएको हुन्छ l अधिकाँश श्रम बेच्ने हामी श्रमिक हरुको सवालमा बिसेष निकै पहिले देखि आउजाउ हुने ठाउँ ‘खाडी’ मुलुकमा जाने श्रमिक दाजुभाईहरुको हकमा यो देखिन्छ कि तोकिएको समयावधी मा जस्तोसुकै कष्टसाध्य काम किन नहोस , पुरा गरेर आफ्नो पारिश्रमिक थापेर हाँसीहाँसी घर फिर्छन l त्यहाँ उनीहरुको केवल तोकिएको काम संग साइनो हुन्छ र त्यसैसँग सम्बद्द श्रमको मूल्य तोकिएको हुन्छ चाहे त्यो श्रमको तुलनामा ज्यादै न्यून पारिश्रमिक दिएर चरम अन्याय गरिएको किन नहोस l यहि अवस्था केयरगिभर नामको काममा पनि हुन्छ l उसरी नै श्रमको मूल्य तोकिएको हुन्छ तर यहाँ उठाउन खोजिएको कुरो के हो भने दुनियामा श्रमको मूल्य भएझैं मानवीय समबेदनाको कुनै मूल्य हुँदैन/ हुनैसक्दैनl
लामो बिछोडपछी, बर्षौको कहालीलाग्दो एकांकी रातहरु र निस्सार दिनहरु पछी सुटकेशमा मनोचाही उपहार, खल्तीमा धेरथोर पैसो र हृदयमा उकुसमुकुस उल्लास अनि अनुहारमा आभायुक्त लालीगुराँस बोकेर आफ्नाहरुलाई भेट्न, आफ्नो माटो टेक्न फर्किंदै गर्दापनि अधिकांश केयरगिभर नेपाली अनुहारहरु गहभरी आँशु र मनभरी नजानिँदो बिषाद बोकेर फर्किन्छन ,यो कस्तो बिडम्बना!! जबकी एकाधबाहेक खासगरी इजरायलमा कार्यरत नेपालीहरुले काम दाम या सुरक्षाको नाममा कुनैपनि अनावस्यक अवस्थासंग सम्झौता गर्नु पर्दैन l उनीहरुले काम गरे अनुरुप पाउनुपर्ने सबैखाले सुबिधा र पारिश्रमिक पाएकै हुन्छन तर पनि फर्किंदा आँखामा आँसु हुन्छ किन?
घरदेखि हुत्तिएर टाढा निकै टाढा पुगे देखि कुनै एक रोगि बृद्द/बृद्दा को को स्याहारमा चौबिसै घण्टा लागि पर्ने केयरगिभरहरु समय र अवस्था संगै एक कामदार मात्र नरहेर एक नर्स, शिकारु डाक्टर, आपतकालीन सहयोगी यन्त्र, सामान्य सुसारे, एक अतिव प्रिय आफन्त र यदाकदा ‘भगवान’ समेत बनिन्छन् l अत्याधुनिक युगको अति ब्यस्त समयले आफ्नाहरुलाई हुत्याएर एक्ल्याइएका अशक्तहरुको एक सुसारे मात्र नभएर सबैथोक र सबसे नजिकको आफन्त साबित भैदिन्छ्न l र अधिकांश रोगीहरु तिनै केयरगिभरको हातको अन्तिम थोपा पानी पिएर उनैका काखमा इहलिला समाप्त गर्छन l यसरि देख्दादेख्दैको परदेशी अन्नदाता हिंडदै, बोल्दै डुल्दै , हर रात एक छानामुनि रहंदा, हर छाक खाना एउतै टेबुलमा खाँदा कतिबेला थाहै नपाइ हृदयको एक अभिन्न ‘आफ्नो’ बनिसकेको हुन्छ र हेर्दाहेर्दै आफ्नै काखमा असह्य पीडामा छटपटउँदै सुटुक्क संसार छोडीदिन्छ l त्यसबेला आफुले पाउने हर सुबिधा र पारिश्रमीकको साथ् अतिरिक्त जेसुकै पाएपनि उसलाई बिदा गर्दा हृदयको अति सम्बेदनशील पाटो चर्किन्छ र आँखाबाट आँशु ओइरिदिन्छ किनकि त्यहाँ त्यसबेला सम्म थाहै नपाई जुन मानबिय समबेदना टुसाएर झाँगीसकेको हुन्छ त्यसको कुनै भरपाई, कुनै मूल्य हुँदै हुँदैन l
जागिरको यहि सबसे कठिन मोडमा उभ्याइदिएको छ क्रुर समयले आज मलाइ l लगातार चार बर्ष एकै छानामुनि रात बितायौं चिपोरा र मैले l एकै टेवलमा खायौं, संगै बाहिरको बगैचामा फूल रोप्यौं र गफिंदै पर बेनगुरियनको छातीबाट चिप्लिन्दै उडेका भीमकाय हवाईजहाज हेर्यौं l आफ्नो समयमा अति सुन्दर रुप परेकी चिपोरा इजरायलजस्तो शक्तिशाली बिकशित देशको मन्त्रालयमा अन्वेषक जस्तो काम गरेकी, इजरायली बौद्दिक समुहमा आबद्द रहेकी तीक्ष्ण दिमागी आधुनिक सफल महिलासंग लामो समय रहंदा धेरथोर पैसो त कमाएँ नै साथसाथै उनका अनुभब र भोगाइबाट निस्केका ति दृढ सोच, त्यो अमुल्य जीवनप्रतिको धारणा र स्वाभिमानका अनन्य गहना मैले हासिल गरें जसको मूल्य कुनै पनि जागिरबाट हात लाग्ने धनराशीमा तुलना हुनैसक्दैन l केवल एक सुसारेको महसुस हुन नै नदिने चिपोराले शेक्सपियरका कुरा झिक्दा म सिल्भिया प्लाथको प्रसंग निकाल्थें l उनले रुसी क्रान्तिको कुरो गर्दा म डायस्पोराको उद्गम प्रसंग उधिन्थें l उन्ले क्यानाडाको हरियाली सम्झंदा म नेपालकै सगरमाथा गफिन्थें l
यस्तो लाग्थ्यो हामी आमै नातिनी हौँ, हामि स्कुल कलेजका सहपाठी हौँ र कहिले लाग्थ्यो एकै अफिसका कर्मचारी जस्तो l हाम्रा कुरा गरेका बिषय मिल्थे, स्तर मिल्थे र मिल्थ्यो हार्दीक सम्मान l उनैको साथमा मैले इजरायलको खेरमोंनको हिउँ खेलें l जेरुसलेमको पातलो जंगल नियालें र कोतेलको भित्तोमा प्रार्थना गरें l एलातको डल्फिनसंग पौडी खेलें अनि तिमना पार्कको सुन्दरता नियालें l उनैको पछी लागेर मिज्पे रमोनको बिशाल क्राटर मरुभूमिको स्वतन्त्र छाती विचरण गरें र हाइफाको अदभुतता द्र्श्यपान गरें l उनैको हात समातेर किन्नेरेतको पानीमा तैरिएं अनि मृतसागरको कालिमाटीमा लटपटीएं l उनीसंगै मुस्कुराउँदै इजरायलका तारे होटलका आनन्द लिएँ र डुलें सांगोपांगो इजरायल l जीवनमा संधै आशाबादी रहेर संसारलाई नियाल्ने यिनै अन्तरमुखी स्वाभाबिमानी सफल महिलासंग जीवन बुझ्दै र तलब थाप्दै चार बर्ष बिताउँदा मैले सोचेकै थिइन त्यस्तो अग्राखजस्तो शरीर यसरि खोक्रिंदै थलिन्छ भनेर l सोच्नै भ्याएको थिइन त्यस्तो चम्चामाउँदो सुर्य जस्तो तेज यसरि क्रमशः मधुरो हुँदै जाला भनेर l
भूमध्यसागरको पानीमा म लर्बराउँदा मलाइ समात्ने हात आज केवल छालले मोरिएको हड्डी बनेर थर्थराइ रहेछन मेरै सामु कति कमजोर बनेर l “why your eyes are teary?” भनेर मेरो हरेक उदासीमा नियाल्ने आँखाहरु मलाइ नै नाचिने जस्तरी अनौठो हेर्छन भित्र कता कता खोपिल्टामा भासिएका गुच्चा जस्तो बनेर l त्यो बलियो सिंगो ज्यान केवल एक बोरा आलुजस्तो लडिरहेछ मेरै सामु र घरि घरि थर्थराउन्दै मेरा हात समात्न आइपुग्छ ति हात र सुनिन्छ आवाज,”आत अल्यादी?(तिमी मेरो छेउमै छौ?)” l मलाइ थाहा छ म र चिपोरा दुवै मौन मौन मृत्यु कुरिरहेछौँ l तर म बेकारको भरोसाको पूल बाँध्न खोज्छु,” चिपोरा! हिए आकोल बेसेदरl” सबै ठिक हुन्छ” l तर यो त हामी दुवै जान्दछौं कि केहि पनि ठिक हुनेवाला छैन l मैले चिपोरलाई स्याहारे मुताबिक हरेक महिना तोकेबमोजिम तलब पाएको छु र उनले म बाट आवस्यक रेखदेख पाएको आफ्नो ठाउँमा छ l आफ्नोहरुबाट टाढा रहंदा मेरो राजाको अँगालोले दिने न्यानो र सुरक्षित आभास, मेरो आमाको मिठो ममत्व र मेरो सानुको बदमासीले दिने प्रफुल्लता र मिठो हैरानी अनि मेरो देशले दिने स्वामित्वको न्यानोपन त दुनियाको कुनै बिलासिता या उपलब्धिसंग तुलना हुनैसक्दैन l तर ति सारा अपुरोपनलाइ निकै हदसम्म पूर्ति गर्ने चिपोराको आफ्नोपन र सामिप्यताले मलाई यति धेरै नजिक बनाइसकेको रहेछ , यति कमजोर बनाइसकेको रहेछ l मलाइ समातेर लम्किने मान्छेलाइ विवश र लाचार देख्छु र व्हिल्चियरमा राखेर धकेल्छु , अनायासै मेरा आँखाहरु सुटुक्क रोइरहेका हुन्छन यो आभासमा कि कुनैपनि बेला हामि अलग्गींदै छौं l र यिनको मृत्यु हेरेर म फर्किनेछु एक भग्न मन बोकेर l
यो सारा अनुभूति, हृदयको न्यानो उष्मा, यो समबेदनाको कुन बिन्दु हो म परिभाषा गर्न सक्दिन l यो अव्यक्त आफ्नोपन, यो समयले या नियतिले जोडीदिएको आत्मियताको कुनै मूल्य हुन्छ र! “आज के लेख्यौ?” भनेर सिर्जनामा जतिबेलाई मलाइ उचाल्ने मेरो कुनै जन्मको साक्षात् र यस जन्मको अघोषित ‘आमा’ यसबेला यी पंक्ति लेखिरहेको बेला मुस्किलले स्वास तानिरहेको हेर्दैछु र अर्को पोइन्ट अक्सिजनको मात्रा थप्दैछु l ...................र सोची रहेछु काम, पैसा र जिम्मेवारी भन्दा परको यो मानवीय समबेदनाले यसरि आक्रान्त बनाउँछ र यसै कारण केयरगिभरको अरु सबैखाले काम भन्दा कठिन छ / हुन्छ ।
दीप्स शाह
deepssanu@gmail.com
आज केहि लेख्ने मुड चलेको छ तिम्रो बहानामाl तर सुरु कहाँबाट गरौँ! यति लामो बिछोडपछी पनि म केहि लेख्नै सक्दिन तिम्रा लागि l किन थाहा छ? किनकि समयको पर्वाह नगरी, भौगोलिक दूरीको हरहिसाब नगरी तिमी हरदम मै मा छौ र म तिमीमा लपेटिएको हुन्छु l यो अटुट स्नेहको लहरोमा जेलिएपछी केहि लेख्नै नसकिने रहेछ l तिमीलाई थाहै छ कुन बाध्यता र विवशताको मारमा परि म आज भन्दा ६ वर्ष पहिले तिमीलाई नाघेर ठुलो जहाजमा बसेर अपरिचित गन्तब्यतर्फ उडेको थिएँ l तिमीलाइ छोड्दा आफ्नो दुधे बालक, मायालु पति र ब्रिद्दा आमालाइ पनि त्यतै कतै छोडिराखेर यता बत्तिएको थिएँ l आजै जस्तो लाग्छ डाँकै छोडेर प्लेनभित्र पसेको ,,,हेर्दाहेर्दै घर छुट्यो, परिवार छुट्यो, तिमी मेरो धरती छुट्यौ र लामो उडान संगै तिमीमाथिको मेरो आकाश छुट्यो l तर पनि मैले त्यसबेला यतिधेरै गुनासो गरिन l तिमीलाई त केहि भन्दै भनिन l आज यतिका पछी तिमीलाई नै भनेर केहि शब्द जुटाउनुको कारण केहि गुनासा र केहि वाचा कसमका कुराहरु छन् जो आजै नभनी भएको छैन l
तिम्रो छाती नाघेर कहिल्यै पर ननिस्किएको मान्छे म , त्यतिबेला सम्म लाग्थ्यो कि तिमि जस्तो छौ त्यस्तै ठिक l तिमीमा जे जे छ त्यहि र त्यति नै संसार हो l त्यो भन्दा पर र अरु केहि नया होला भन्ने मलाइ थाहा नै थिएन l तर जब जब तिमीबाट म टाढा टाढा उडीरहें तिमीमाथिको आफ्नै आकासबाट अरुका प्रगति, अरुका उपलब्धि र अरुकै सबथोक l अनि जब तिमी माथिको आफ्नो आकास छोडेर पराइको धरतीमा टेकें अनि पो देखें l तिमी मेरो नेपाल , मेरो ‘सबथोक’ कति पछाडी रहिछौ l तिमीलाई थाहा छ नेपाल! जबमैले माथि आकाशबाटै अरुका संसार रातको बिचमा पनि बेहुलीझैं उज्याली देखें ,,धरोधर्म तिमीलाइ सम्झेर म कति विव्व्हल भएको थिएँ l संसारको दोस्रो धनिको गिन्तीमा तिमि आफ्ना छाती चिरेर बारैमास छंग्छंग छहरा पानी उमारेर बगाउँछौ तर रातको अन्धकारमा छिमेकीको दयास्वरुपको मट्टीतेल टुकीको धिप्धिपेमा म तिमीलाई नै देख्न सक्दिन थें l कत्रो बिडम्बना! यहाँको सडकमा लहरै आवस्यकता भन्दा बेसी झल्झलाइरहेका बत्ति बाट केवल एउटा बत्ति भएपनि रातमा त्यहाँ म तिमीलाई नियाल्न सक्थें होला l र सत्य अहिलेपनि यी झिलमिल हेर्दा हरेकपटक म इर्श्याले जल्नेगर्छु l
तिमीलाई लाग्ला म किन आफ्नै सोचाइ र भोगाइ बारे एकोहोरो फलाक्दैछु , किन तिम्रो हालखबर सोधिरहेको छैन l सोध्नु जरुरि नै छैन त के सोधुँ? हरेक दिन पराइलाई बेचेको समयबाट थोरै समय उब्रिदा हतार हतार समाचार पढ्छु अनलाइनतिर l नाराम्रा सहि तर तिम्रो बारे हर एक खबर पढिरहेको हुन्छु l कुनै खबरमा पनि तिमि हाँसेको खुसि भएको र सन्तुस्ट भएको खबर कहीं कतै लेखिएको हुँदैन l जहिल्यै जतापनि भत्केको, खस्केको, रोएको चिच्याएको दुर्गति मात्रै लेखिएको हुन्छ l तिम्राबारे समाचार पढ्दा संधै सुस्केरा छुट्छन l झन् अचेल त जहिल्यै तिमी बन्द भएको खबर आउँछ l थाहा छ नेपाल! म यो इजरायल भन्ने मुलुकमा पाखुरा बजार्दैगरेको पुरा ६ बर्ष भयो तर आज सम्म यो देश एकैपटक पनि कुनैपनि राजनैतिक बहानामा बन्द भएको थाहै छैन l जबकी यो बिचमा यहाँ पनि संसदीय चुनाब भयो l स्थानीय चुनाब भयो l सरकार फेरियो , ससदमा अदलबदल भयो र संसारकै एक शक्तिशाली र बिकशित मुलुकमा यो उभिएको छ l तर तिमीलाई भने तिम्रै सन्तानले दैनिक जसो बन्दि बनाउछन l संसारका अन्य बिकशित मुलकसंग प्रतिस्पर्धा गर्नलाइ त तिम्रा सन्तान शिक्षित हुनु पर्छ l तर संधै बन्दैबंदले खान त पाउदैनन् पढ्नु को के कुरा! उफ्फ्फ्फ़ यस्ता गुनासा तकती हो कति ,,गरेर साध्य छैन l
फेरी भन्लाउ अरुलाई यस्तो गुनासो गर्नेले आफु चाहिं किन पलायन भएको त? किन मैसंग नबसेको त? तर तिमीलाई थाहा छ म तिमीदेखि टाढा लाग्नुको कारण l कत्रो जोश जाँगर थियो म मा l बिपन्न परिवारमा जन्मेर हुर्केर पनि मैले आफुलाई शिक्षाको उज्यालोले चम्किलो बनाउने कोसिस गरें l कैयन मुस्किलका बाबजुद म डटिरहें l आफुले सकिनसकी आफ्नो गाउँलाई शिक्षित बनाउँ भनेर म शिक्षक बनिन कि l सूचना र संचारलाइ फराकिलो पारौं भनेर पत्रकार बनिन कि l बजारब्यबस्थामा केहि गरौँ भनेर हात हालिन कि l
जे जति गरें त्यो थोरै थिएन l छोरी हुनुको भूमिका निभाउँदा निभाउंदै कसैकी मायालु बनें l कुनै घरकी बुहारी बनें र अन्तत: कुनै सन्तानकी आमा बनें l कहाँ सजिलो थियो तिम्रो छातीमा कुनै महिला भएर जन्मिसकेपछि त्यति सजिलो आफुलाई प्रगति पथमा लम्काउन l मेरा रहर को त कुरै नगर l जिम्मेवारी र कर्तब्य कति थियो थियो l ति सबैलाई एकैसाथ अगाडी लैजाने हिम्मत हुँदाहुँदै पनि तिम्रो छातीमा पाखुरा बजारेर खाने अवस्था नरहेपछि नै मैले यो निर्णय लिएको थिएँ नि l तिमीलाई लाग्ला म स्वार्थि भएँ l र पलायन भएँ l त्यस्तो केहि होइन नेपाल! चाहे जस्तो सुकै अवस्था होस् , भूगोलमा तिम्रो कहीं नाम र अस्तित्व छ र नै मैले घमण्ड गर्न सकेको छु l यहा जे छ सबै अर्कैको हो l यो पराइको माटोमा टेकेर पराइकै आकाश ओढेको हरेक पल मैले तिमीलाई सम्झेको छु l ज्याला मजदूरी गरेर आर्जन गरेको एक एक कौडी जम्मा गर्दै तिमि तिरै पठाएको छु l यहाँ जाने सिकेका शिप र ज्ञान अनि अनुभब बटुलेर भोलि फर्केपछि तिम्रो खुसीको लागि केहि न केहि गर्ने अठोट बोकिरहेको छु l तिमि मान या नमान तर मैले हरेक धड्कनमा तिमीलाई स्मरण गरेको छु l र लाख गुनासा बोकेरै पनि तिमीलाई अटुट माया गरेको छु अनि गरिरहनेछु l मलाइ बिस्वास छ ढिलो सहि तर एक दिन तिमि हाँस्ने अनि म खित्किने दिन आउनेछ l
यो भूमध्य सागरको अथाह पानीको कसम! यसैको छालसंग उत्ताउलिंदै बहने सिर्सिरे बतासको कसम! यी रात भगाउने झिलमिल उज्यालोको कसम! यी चौडा काला चिल्ला सुकिला सडकको कसम! कसम तिम्रो अनवरत ममत्वको कसम! म छिटै फर्कनेछु फेरी तिम्रो छातीमा लुटपुटिन l तिम्रो हरियालीमा लडिबुडी गर्न l तिम्रो छाती हुँदै सलल बग्ने संग्लो पानि घटघटी पिउन l म फर्किनेछु फेरी तिमीमै समाहित हुन l बस् अब थोरै अरु धैर्य गर l अब अलिकति अरु पर्ख l दुखले बाँचेर आर्जेको ज्ञान र धन बोकेर म हुत्तिन्दै आउनेछु तिम्रो मगमग सुवासमा झुम्न l अवस्य आउनेछु l
तिम्रो केवल तिम्रो आफ्नो ‘म’
दीप्स शाह .इजरायलबाट l
–हेमन यात्री
धेरैपछि सम्झनाको साँघु तरेर
तिमीले मेरो बारे सोध्यो–
कसरी ढाटूँ म आफूलाई ?
तिमीले बिर्सीहिँडेको मानिस म होइन भनेर ।
सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले
खै ! के सम्झ्यौ कुन्नी
दुर देशमा पुगेर ?
सुनकोशीमा बगेको सुनको पानी सम्झ्यौ कि
सम्झ्यौ– गढ्तीरमा बिसौनीले पर्खिबसेको
कि मैले दिएको सम्झनाको रुमाल
आँधीले उडाइलगेको साँझ सम्झ्यौ ?
खै ! के सम्झ्यौ कुन्नी
सप्पै–सप्पै बिर्सन्छु भनेर हिँडेको तिमीले
फेरि सम्झ्यौ सम्झनाको साँघु तरेर ।
सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले
खै ! के सम्झ्यौ कुन्नी
दुर देशमा पुगेर ?
हामीले हिँडेजस्तो बाटाहरू पो भेट्यौ कि त्यहाँ
वा तिमी जस्तो एक्लो–एक्लो देउरालीलाई देख्यौ
वा मेरै जस्तो सपना भत्किएको मानिस पो भेट्यौ
वा कहिलेकाहीँ मैले गुन्गुनाउने गीतहरू पो सुन्यौ त्यहाँ ?
नत्र खै ! कसरी सम्झ्यौ
सप्पै–सप्पै बिर्सन्छु भनेर हिँडेको तिमीले ।
जती अक्करको बाटो जस्तो हुन्छ भूलीदिन
सायद सजीलै छ सम्झनलाई
र नै सम्झ्यौ तिमीले ।
बिर्सेकै भएपनि
कुनै दिन तिमीले छोडिगएको बाटोले भन्ने थियो
कुनै दिन तिमीले छोडिगएको माटोले भन्ने थियो
‘साँझको जूनकिरी जस्तै हुन् सम्झनाहरू
कुनै साँझ जूनकिरीहरू निभेछन् भने
सम्झनू– हाम्रा सम्झनाहरू प्नि सकिनेछन् सबै ।’
र त्यतिन्जेल मैले सम्झेको मानिस
तिमी नै हुनेछौ ।
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष अनेसास लस एन्जेलस च्याप्टर
लस् एन्जेलस्
घेरा दिने भित्तो मलाई घरजम मै छु
भीडमा गिलासको स्वादिलो झमझम मै छु
खाली र रित्तो मन ननाचे के भो र
त्यो पाउजुको झन्कारको छमछम मै छु
वाह वाह भन्छन् फ्याँकछन् पैसा हुर्र
हीरा र मोतीको अहा चमचम मै छु
यो भित्र पीडाले नहाँसे के भो र
बाह्य त होहल्ला सहित रमझम मै छु
यस्तै भयो कल्ले र भो एक्लो भन्छ
टिक टिक समयको चालको हरदम मै छु
---------------------------------------------------------------
बहर : सरीअ
सूत्र : मुस्तफ्इलुन्++ + मुस्तफ्इलुन् + मफ्ऊलात
SSIS SSIS SSSI
उपाध्यक्ष अनेसास लस एन्जेलस च्याप्टर
लस् एन्जेलस्
घेरा दिने भित्तो मलाई घरजम मै छु
भीडमा गिलासको स्वादिलो झमझम मै छु
खाली र रित्तो मन ननाचे के भो र
त्यो पाउजुको झन्कारको छमछम मै छु
वाह वाह भन्छन् फ्याँकछन् पैसा हुर्र
हीरा र मोतीको अहा चमचम मै छु
यो भित्र पीडाले नहाँसे के भो र
बाह्य त होहल्ला सहित रमझम मै छु
यस्तै भयो कल्ले र भो एक्लो भन्छ
टिक टिक समयको चालको हरदम मै छु
---------------------------------------------------------------
बहर : सरीअ
सूत्र : मुस्तफ्इलुन्++ + मुस्तफ्इलुन् + मफ्ऊलात
SSIS SSIS SSSI
देशको अस्थिर राजनितीक अवस्था र बढ्दै गएको बेरोजगारीका कारण आर्थिक अवस्था सुधार्दै समाजमा स्थापित हुने रहर वा बाध्यताले नेपाली युवाहरु बैदेसिक रोजगारका लागी विश्वका कुना कुनासम्म पुगेका छन् । विश्वका अन्य देशहरुमा जस्तै युरोपको पोर्तुगलमा नेपालीहरुको आगमनमा वृद्धी भएको छ । युरोपका अन्य शक्तिशाली देशहरुले बस्ने र काम गर्ने नियमहरुमा कडाई गर्दै गएपछि पोर्तुगलमा नेपालीहरुको आगमनमा ह्वातै वृद्धी हुदै गएको हो । सुरुका दिनहरुमा अन्य देशहरुमा भन्दा सहज र छिटै वसोवास गर्न पाउने अनुमती पत्र (रेसीडेन्सी) पाउन सकिने हुनाले पनि अन्य देशहरुमा राम्रो आम्दानी गर्न गएका नेपालीहरुको रेसीडेन्सी प्राप्त गर्ने उद्धेश्यको अन्तिम गन्तव्य स्थल बनेको छ पोर्तुगल ।
युरोपको पोर्तुगलमा करिब ९० को दशकदेखि नेपालीहरुको आगमन शुरु भएको भनिएपनि पोर्तुगलमा प्रवेश गरेका नेपालीहरु बाट बुझ्दा १९९४ देखि नेपालीको प्रवेश भएर बसोबासको क्रमले विस्तारै गति लिएको खुल्न आएको छ । सन् १९९४ अप्रिल १६ तारिखका दिन नेपाली पासपोर्टको आधारमा कुमार श्रेष्ठ पोर्चुगलमा पहिलो नेपालीको रुपमा प्रवेश गरेका थिए । श्रेष्ठ भन्दा अघि इन्डियन पासपोर्टको रुपमा सन् १९९२ मा शिव (यकु) थापा पोर्चुगल प्रवेश गरिएको बुझिएको छ । नेपाली पासपोर्टको आधारमा पोर्चुगलमा प्रवेश गरेका हुनाले कुमार श्रेष्ठलाई नै पहिलो पोर्चुगल प्रवेश गर्ने नेपालीको रुपमा लिन सकिने एनआरएन भु.पू. अध्यक्ष लक्ष्मी सापकोटा बताउनु हुन्छ । सन १९९४ मा पोर्चुगलमा आउदा मेरो लागि पोर्चुगल संसार थियो । अपरिचित दुनियाँ थियो । जहाँ नेपाली नाम सुन्न मुस्किल थियो । करिब १८ महिना सम्म कुनै नेपालीसंग सम्पर्क हुन सकेन । १९९५ को अन्त्यतिर धिलम दर्शनाधारीसंग भेट हुने अवसर मिलेको थियो । अनि उहाँसंगको भेटले आँट बढेर आयो । विस्तारै नेपाली आउने क्रम बढ्दै गयो । आफ्नो विगत सम्झदै भावुक मुद्रामा नेपाली वेभलाई श्रेष्ठले सुनाए । सन १९९६ देखि विस्तारै अन्य नेपाली भेटिने क्रम बढ्यो । १९९६ को अन्त्यतिर आईपुग्दा करिब १३ जना नेपालीसम्म हामी पुग्यौ श्रेष्ठले बताउछन् । ती १३ जनामा श्याम रजक, शिव प्रसाद थापा, मकर बहादुर हमाल, जितेन्द्र गुरुङ्ग, योगेन्द्र श्रेष्ठ, बाला वि.क, चित्र वि.क, धिलम दर्शनाधरी, टंक सापकोटा, अर्जुन ठकुरी, शिव प्रसाद थापा थिए । एक दर्जन नेपालीहरु भेला हुने भएपछि एकै परिवार जस्तो भएर पहिलो पटक १९९६ को विदाई र नयाँ वर्ष १९९७ को स्वागत गरेको अझै ताजै रहेको श्री श्रेष्ठ बताउँछन् । पोर्तुगलमा प्रवेश गर्ने पहिलो नेपाली महिलाको रुपमा सरिता श्रेष्ठ हुन । उनी १९९९ मा पोर्चुगल आएकी थिईन । त्यसपछि सचिना हमाल हुदै नेपालीहरुको आगमनमा वृद्धि भएको देखिन्छ । सन २००० को सुरुवातदेखि यो प्रकृयाले राम्रै गति लिन थाल्यो । पोर्चुगिस सरकारको खुल्ला र उदार आप्रवासी नीतिको कारण यहाँ दिनानुदिन विदेशीहरुको सख्या वृद्धी हुदै गएको हो । सुरुमा नगन्य मात्रामा रहेका नेपालीहरु सन २०१२ को मध्यसम्म आईपुग्दा करिब पाँच हजारको हाराहारीमा रहेका छन् । धेरै नेपालीहरुको बसोवास राजधानी लिस्बोनमा छ भने अन्य शहरहरु कोइम्ब्रा, अल्गार्भ, पोर्तो, भिलामोरा आदि स्थानहरुमा पनि उल्लेखनिय उपस्थिति रहेको छ । हाल यहाँ बसोवास गर्दै आएका नेपालीहरुमा कतिले रेसिडेन्सी पाइसकेका छन भने धेरै नेपालीहरु रेसिडेन्सी कार्डको प्रक्रियामा रहेका छन् ।
सञ्चारको दु्रत विकास संगै विश्व साघुरिदै गइरहेको बेला कोठाको एउटा कुनामा बसेर अर्को कुनाको समाचारहरु सजिलै थाहापाउन सकिने प्रकृयामा तिब्रता आएको छ । यस्तै एक देशको समाचार अर्को देशमा बस्ने नेपालीहरुलाई जानकारी गराउन मिडियाहरुको मुख्य भूमिका रहेको हुन्छ । पोर्तुगलमा सञ्चालित सबैभन्दा पुरानो अनलाईन यूरोनेपाल डट कम हो । २००७ देखि सञ्चालनमा आएको युरोनेपाल डट कमका सञ्चालक केविर राई हुन् । त्यसपछि क्रमशः नेपालपोर्चुगल डट कम (विनोद घिमिरे), साहारा संसार डट कम (रामहरि लामिछाने) पिटीनेपाल डट कम, नमस्तेनेपाल डट कम (योगेन्द्र मिलन छन्त्याल), सिमानापारी डट कम (बाबुराम भुषाल) रहेका छन् । अहिले युरोनेपाल डट कम पोर्तुगलबाट संचालनमा छैन भने पिटीनेपालडटकम विभिन्न कारणले बन्द भएको छ । लामो समयदेखि नेपालीहरुको आगमन शुरु भएपनि यहाँ पहिलो र एकमात्र छापा पत्रिकाको रुपमा नेपाली वेभ अक्टुवर २०१२ देखि मात्र प्रकाशनमा आएको छ । प्रवासमा रहेका नेपाली गतिविधिलाई छापामा उतार्न सफल भएको छ उक्त छापा पत्रिकाले हालसम्म चौथो अंक प्रकाशन गरिसकेको छ । यहाँका सवैजसो सञ्चार माध्यामहरुले पोर्चुगलमा भएका सबै गतिविधिहरुलाई विशेष महत्व दिने गरेका छन् ।
नेपालीहरुको आगमनमा बृद्धी संगै संघ सस्थाहरुमा पनि प्रसस्त मात्रामा बृद्धी हुदै गईरहेको छ । पोर्तुगलमा बसोवास गर्दै आएका नेपालीहरुलाई समेट्दै एक छाता मुनी बसेर नेपालीहरुको समस्या, हक र हितका बारेमा केही गर्नुपर्ने महशुस गरी गैरआवासिय नेपाली संघ (एनआरएन) को स्थापना भएको हो । नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएन) यहाको सबै भन्दा बढी सदस्य संख्या भएको ठूलो संगठन हो । सबै जातजाती, धर्म र संस्कृतीलाई एउटै छातामुनी एकवद्ध गराई अगाडी बढीरहेको गैरआवासिय नेपाली संघ पोर्चुगलको स्थापना २००६ मा भएको हो । यो संघका सस्थापक अध्यक्ष पूर्ण हमाल हुन । एनआरएनले पोर्तुगलमा रहेका नेपालीहरुलाई परेको पिरमर्का संग हातेमालो गर्दै विभिन्न प्रकृया बाट आईपरेका समस्या समाधान गरिरहेको छ । एनआरएन को स्थापना पछि यहाँ भएका नेपालीहरुको गतिविधिमा प्रसस्त मात्रामा बृद्धी हुदै गएको हो । पोर्चुगलमा पोर्चुगिज तथा नेपालीहरुको आपसी सम्बन्ध विकाश र विस्तार गराउदै पोर्तुगलमा नेपाललाई विभिन्न तर्फबाट परिचय गराउदै लैजाने उद्धेश्यले पोर्चुगल नेपाल मैत्री संघको स्थापना भएको छ । यसले यहाँ हुने विभिन्न च्यारिटी सहयोग र प्रर्दशनीमा भाग लिएर नेपालको बारेमा प्रचारप्रसार गर्दै आएको छ ।
नेपालमा रहेका तीन राजनितीक दलहरुका भातृ संगठनको रुपमा जनसम्पर्क समिती, नेपाली लोकतान्त्रिक मञ्च र जनप्रगतिशिल मञ्च आ आफ्ना उद्धेश्यका साथ अगाडी बढीरहेका छन । यिनका अतिरिक्त अन्य जातिय तथा क्षेत्रीय संघ संगठनहरु प्रशस्त मात्रामा खुलेका छन् । हाल सम्म तमु समाज, आदिवासी जनजाति महासंघ, मगर समाज, किराँत समाज, शेर्पा समाज, नेपाल उत्पिडित जातिय समाज पोर्चुगल, क्षेत्री समाज, नेवारी समाज, म्याग्देली प्रवासी संघ, बाग्लुंग सहायता कोष, रुपन्देही समाज आदि रहेका छन् । यि संघ सस्थाहरुले आफ्नो जातिय धर्म र चाडपर्वहरुलाई विशेष महत्व दिई कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन् ।
बहुभाषिक, बहुजातिय र बहुसास्कृतीक परिवेशमा हुर्किएका हामी नेपालीहरु संसारको जुनै कुनामा पुगेपनि आफ्नो परिचय बनाउन चाहन्छौं । हामीहरु आफ्नो देश, भाषा र संस्कृतीलाई माया गछौं । नेपाली संस्कृतीलाई जीवन्त राख्न नेपाल पोर्तुगल कला सस्कृती तथा साहित्य परिषदको स्थापना भएको छ । यसबाट विदेशमा पनि नेपाली कला संस्कृतिको व्यापक प्रचारप्रसार हुने आसा गर्न सकिन्छ । सुरुका दिनहरुमा यसले नेपालीहरुको चाडपर्व मनाउने तथा विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ । हालसालै विश्वभर छरिएर रहेका नेपालीहरुको लुकेको प्रतिभालाई प्रष्फुटित गर्दै भाषा र साहित्यको विकाश गर्ने उद्धेश्यले सुनिल संगमको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज गठन भएको छ । त्यसैगरी अन्र्तराष्ट्रिय कलाकार मञ्च पोर्चुगल शाखा पनि गठन भएको छ ।
करिव २२ को संख्यामा रहेका विभिन्न संघ संस्था मध्य आधा दर्जन मात्र सक्रिय रुपमा सञ्चालनमा छन् र अन्य संघ संस्थाको न्यून सक्रियता रहने गरेको छ । यति धेरै संघ संस्थाहरु ज्ुन उद्धेश्यले खुलेका छन् । ती उद्धेश्यमा अनवरत लागि परेको देखिदैन त्यसैले आगामी दिनहरुमा धेरै संघ संस्था उमार्ने भन्दा पनि गुणात्मक र सक्रिय संघ संस्थामा गोलवद्ध भएर सकेको सहयोग एकले अर्कालाई गर्ने भावना जागृत गराई अगाडी बढ्ने सोच तिर्खान जरुरी छ । विभिन्न जाती, विचार र संघसस्था संग सम्बन्ध भएपनि सम्पूर्ण नेपालीहरुले सर्वप्रथम हामी नेपाली हौ भन्ने सोचको विकाश गर्नु आजको मुख्य आवश्यकता हो । कुनै नेपालीलाई परेको पिरमर्का र दुःख हामीलाई परेको हो भन्ने सम्झीएर हातेमालो गर्दै भैपरिआउने दुःखका सबै क्षणमा सक्रिय सहभागीता भई नेपालीहरु बिच एक आपसमा एकता र समझदारी हुदै भातृत्व संगै सकारात्मक सोचको विकास हुनु अति आवश्यक छ ।
समाप्त
(पोर्चुगलबाट प्रकाशित हुने छापा पत्रिका “नेपाली वेभ” मा प्रकाशित)
चन्द्र गुरुङमानवजीवनलाई सिनेमा, नाटक, यात्रा या खेल जे जे मानेर परिभाषित गर्दा पनि हुन्छ । अनेक दृश्यहरू फेरिन्छन्, अन्तिम बिन्दुमा आएर जीवनले अडिनुअघि । यी चौबीस रिलमा समाज, मानिस, साहित्य, दर्शन, देशप्रेम, कला र वरिपरि विश्वमा घटेका घटनाहरूले ठाउँ पाएकाछन् । जीवनका गीतहरू अनेक स्वरमा प्रस्फुटित छन् - यी अक्षरहरूमा । कविताको मिठास, लेखनकलाको उत्कृष्टता, यात्राको आनन्द र विगतका पलहरू यादगार... संस्मरण बनेका छन् । र, आएका छन् यस संग्रहमा लक्ष्यवान यात्राहरू, साथीसँगीको सुखद संगत र मानवजीवनमा मानवताको न्यानोपन ।
घुमन्ते स्वभाव र साहित्यसितको लगावले लेखक थुप्रै ठाउँमा डुल्दै पुगेका छन् । खेलकूद, भ्रमण, लेखन, अध्ययन, साहित्यप्रतिको माया आदि स्पष्ट चित्र कोरिएका छन् - यी निबन्धहरूमा । कलाको रुखमा कवितासँगै फुल्ने गीतको मीठो फूल र निबन्धको सुवास आदि समावेश छन् एकसाथ । मानवता, दयामाया, साहित्यको रस, विचारको बलियो उपस्थितिहरू यसका स्वादहरू हुन् र निबन्धहरु रसवान बनेका छन् ।
निबन्धकार एक लाहुरे परिवारको सदस्य । रोजगारीका अवसरहरू खोज्दै भारततिर पुगेका आफन्तजनलाई चिठी लेख्ने काम भूपिनबाटै गराउँथे टोलछिमेकका मानिसहरू । उताबाट आएका चिठीपत्रमा एक परदेशीको दु:ख-व्यथा आफन्तजनलाई पढेर सुनाउने काम पनि उनिद्वारा नै सम्पन्न हुन्थ्यो । यसरी नै भूपिन लेखनमा रमाउन थाले । यो नै उनको कविता लेखनको थालनी पनि थियो, शायद । चिठीपत्रबाट कविता र अब निबन्ध लेखनमा आइपुगेझैँ भूपेन्द्र खडका, भूपिन व्याकुल हुँदै भूपिनसम्म पुगेका छन् - यस यात्रामा ।
यी निबन्धहरू जीवनको धेरै नजीकबाट हिँड्छन् । कहिले कुनै नदीझैँ बगेका छन्, कहिले समुद्रको किनार त कहिले हिमालको फेद हुँदै हिँडेका छन् । कहिले साईकलको क्यारियर चढेर जीवन कुदेका छन् त कहिले साझा बसको लास्ट सिटमा बसेर भएपनि जीवनसित यात्रारत छन् । निबन्धकारलाई जीवनसित माया छ/जीवनको यस 'वन–साइडेड' बाटोमा पाइलाका डोबहरू छाडेर जाने उद्देश्य छ । र, लेखनले नै आफ्नो उपस्थिती लामो समयसम्म जीवित राख्न चाहेको छ पृथ्वीमाथि ।
लेखनले पहिचानलाई अझ थप उँचाइमा पुर्याउने यस यात्रामा हार्दिक शुभकामना भूपिनलाई l








