Hot News

यस भेटका आकर्षणहरू

काव्य संसार

कथा संसार

गीत गजलहरू

संस्मरण /निबन्ध

लिंक सम्बन्ध

RSS

          साहित्यसंसार नेपाली साहित्यमा कलम चलाउने र साहित्यलाई माया गर्ने हामी सबै साहित्यप्रेमीहरुको एउटा सानो संसार हो ।

         सूचना र प्रविधिको बढ्दो विकाससंगै विश्व साँघुरिदै गइरहेको आजको वर्तमान अवस्थामा साहित्यिक रचना तथा कृतिहरु इन्टरनेटमा सहज रुपमा उपलब्ध हुन थालेका छन । यसरी इन्टरनेट मार्फत नेपाली साहित्यका रचनाहरु पनि धेरै भन्दा धेरै प्राप्य बनाउन यस्ता हजारौं कोशिस गरिनु पर्छ । त्यस्तै एउटा अर्को कोशिस साहित्यसंसारको पनि हो।


          लेख रचना पठाउन तथा सल्लाह र सुझावका निमित्त हाम्रो इमेल ठेगाना info@sahityasansar.com

मित्रताको अधुरो कथा -सीता बराल

साहित्यसंसार डट कम :




रमेशलाई आजकल केही नपिई निन्द्रा पर्दैन । विहान उठेर काममा जानु बेलुका कोठामा आएर केही पिएर सुत्नु उनको दैनिकी बनेको छ । विहानको दश बजीसकेछ । बेलुका पिएको व्हिस्कीले राम्ररी छाडेको थिएन । उठ्न मन नलागी नलागी पनि काममा जानको लागी उठेर हातमुख धोएर काममा हिडे रमेश । अल्भलादे पार्क अगाडी मानिसहरुको भिड थियो । प्रहरीहरुले घटनास्थललाई घेरा हालेर सुरक्षा गरिरहेका थिए । बाटोको छेवैमा केटी मानिसको दुर्घटना भएको रहेछ । लास घोप्टो परेको थियो । रगत पर सम्म बगीरहेको थियो । मानिसको भिड छिचोल्दै रमेश घटनास्थलको नजिकै गए । दुर्घटना परेको मानिसको देबे्रहातमा लगाएको छालाको चेन भएको घडी स्पष्ट देखिएको थियो । रमेशलाई व्हिस्कीले छाड्यो । उनले त्यो घडी रुपालाई एक वर्ष अगाडी विशेष दिनमा दिएको उपहार थियो । आठ महिना देखि रमेशले हरेक ठाँउमा खोज्दा भेट हुन नसकेकी उनकी साथी रुपाको लास थियो त्यो । युरोपमा आएर नै उनिहरुको पहिलो भेट भएको हो । रमेश र रुपाको मित्रता देखेर साथीहरु कोही रिसले अनेक कुराहरु सुनाउथे भने कसैको लागी राम्रो उदाहरण बनेका थिए । रमेशलाई रुपा आज सम्म कहा गएकी थिइन मैले यति धेरै खोज्दा किन भेटाउन सकिन उनी म बाट किन सम्पर्क विहिन भइन र आज यही ठाँउमा उनको दुर्घटना कसरी हुन पुग्यो भन्ने केही सोच्नै सकेनन् । रमेशको मानसपटलमा रुपा संग विताएका दिनहरुको सम्झना ताजा भएर आयो ।



रुपाले एसएमएस गरेर रमेशलाई आज साँझ अल्भलादे पार्कमा आउनु भनिन । रुपाले दिएको समय भन्दा आधा घण्टा अगाडी नै पार्कमा गएर कुरीरहे रमेश । प्रतिक्षाको समय लामो लागी रहेको थियो । हातमा लगाएको घडी हेर्दै हेर न आज झन काम बाट छिटै निस्कन्छु भनेर तिमीलाई समय दिए । झन यता उता गर्दा गर्दै ढिला भयो । धेरै बेर कुर्नु पर्यो हो भन्दै रुपाले रमेश लाई सोधिन । किन त हतार गर्दै बोलाएकी अरु कुनै छुट्टीको दिन फुर्सदमा बस्न हुनेथियो नि होइन र । फेरि हामीहरु भेट हुन कुनै त्यस्तो विशेष दिन पनि त चाहिदैन । सधै भेट भईरहने आज के विशेष थियो र म्यासेज पठायौ ? कुनै कुनै कुराहरु मनमा नराखी भनिहाल्न मन लाग्ने रहेछ । हाम्रो भेट भोली हुन्छ कि हुदैन के थाहा ? रुपाले भनिन ।

हरियो दुबो भएको ठाँउमा रमेश बसे र रुपालाई पनि बस्ने इसारा गरे । रमेशको नजिकै बसीन रुपा । रुपालाई आफूले रमेशलाई भन्न खोजेका कुराहरु कताबाट शुरु गर्ने जस्तै भई रहेको थियो । झोलाबाट पानीको बोतल निकालेर रमेशलाई दिईन । रमेश तिम्रो र मेरो पहिलो भेट यहि पार्कमा भएको थियो नि है ? त्यतिबेला देखि हामीहरु संगै भयौ । यहि पार्कमा बसेर हामी दुई जस्तो दुःख परेपनि एकले अर्कालाई साथ दिईरहने र दुबैको कार्ड भएपछि संगै नेपाल जाने है भनेर हात पनि मिलाएका थियौ नि सम्झना छ होला ? युरोपको कार्ड बनाएर परिवार ल्याएर संगै एउटै अपार्ट -तला) मा बस्ने भन्दै कति रमाईला कुरा गर्थ्यौ नि है ? कति रमाईला थिए ति हाम्रा सुरुका दिन र हामीले कल्पेका सपनाहरु । अहिले तिमी युरोपको कार्ड (बसोवास गर्न पाउने अनुमति पत्र) बनाउन सफल भयौ । तिमीले तिम्रो गन्तव्यको यात्रा पुरा गर्यौ । तिम्रो उद्धेश्य पुरा भयो र तिमी तिम्रो खुशी बाड्न परिवार सामु छिटै जादैछौ । तिमीले परिवारबाट पहिलेको भन्दा धेरै माया र सम्मान पाउनेछौ । तिम्रो र परिवारको लागी यो अति नै रमाईलो भेटघाट को लागी मेरो शुभकामना छ । तिमी घर जान लागेकोमा म अति नै खुशी छु । रमेश तिम्रा हरेक दुःख र सुखको अनुभवको कल्पना म पनि गर्न सक्छु । तिमीसंग जुन दिन देखि भेट भयो । त्यो दिन देखि मैले तिमीलाई आफ्नो संरक्षकको रुपमा पाए । मैले तिमीलाई हरेक काम लगाएर दुःख दिए । साच्चै रमेश आफनो ठाँउ छाडेर बिदेश आएपछि त्यस्तै समाजमा हुर्केका मानिसहरुको दृष्टी नराम्रो हुने रहेछ । रुपाको स्वरमा पिडा मिसिएको थियो । रुपा तिमी किन वितेका कुराहरु निकालेर मन दुखाउदै र्छौ । मानिसहरु जति नै विकशित देखिए पनि उनीहरुको बानी व्यहोरा र सोचाई बाटै उनीहरुको स्तर बुझिन्छ भन्ने थाहा छैन तिमीलाई । तिमीले आज भन्न खोजेको खास कुरा के हो रमेशले विषय बस्तु खोतल्न खोजे ।

रमेश मैले तिमीलाई मेरो मोवाइलमा आएको कल किन रिसिभ गर्न दिएर ? साँझ पख तिमीलाई मन नलाग्दा नलाग्दै पनि घुम्न जान किन कर गरे र मेरो हरेक काममा तिमीलाई नै किन अगाडी सारे भन्ने कुराले तिम्रो मनमा खुल्दुली चलेर मलाई सोध्दा यो सबै समय आए पछि भन्छु खासै केही होइन भनेकी थिए नि । सायद आज यो समय आएछ क्यारे मलाई त्यसको उत्तर दिन मन लाग्यो । अब तिम्रो र मेरो भेट र सम्बन्ध अहिले वितीरहेको जस्तो नजिक नहुन पनि सक्छ । किनकी तिम्रो सपना अन्तै मोडीएको छ । हाम्रो गन्तब्य त झनै फरक बन्यो नि होइन ? रमेश साच्चै नै एउटा नारीलाई परिवार विना परदेशमा एक्लो जीवन काट्न धेरै गाह्रो रहेछ । हाम्रा समाजका पुरुषहरु युरोपमा आएपनि उनीहरुको दृष्टीकोणमा फरक आएको छैन । केटीको फोन नम्बर पाएपछि ब्लफ कल गर्ने, कामै नभएको ठाँउमा काम छ भन्दै बोलाएर भेटघाट गर्न खोज्ने र उनीहरुको चरित्रको परिक्षण गर्ने जस्ता कामहरु गर्दछन् । जुन कुरा तिमीलाई पनि थाहा छ । आफ्नो परिवारको उज्वल भविष्यको लागि पुरुषले जस्तै नारीले पनि केही गर्न सक्छे भन्ने साहशका साथ परदेशिएका नारीहरुलाई सम्मान सहित सहयोग गरेर आफ्नो आमा,दिदी,वहिनी र काकीहरुको मनोभावना उच्च गराउन त कता हो कता झन उनीहरुले काम नपाएर पिडीत भइरहेको बेला यसको फाइदा उठाउन खोज्ने रहेछन् । यसलाई तिमीले कसरी बुझेका छौ मलाई थाहा छैन कहा सम्म राम्रो हो । यिनै कुराहरुको शिकार म बन्न चाहिन र तिमीलाई मैले सहारा बनाए । एउटा मानवले गर्ने मानविय व्यवहारलाई पनि स्वार्थको रुपमा हेर्ने दरिद्र सोचाइ भएकाहरुको गुठमा तिमीलाई धेरै कुराहरु सुनाइए तै पनि तिमीले मलाई साथ दिन छाडेनौ । यस अवस्थामा यस्तो ठाउमा तिमीले दिएको सहाराको म सधै ऋणी छु । तिमी र मेरो विचको यो मित्रता कहिल्यै पनि फिका नहोस भन्न चाहन्छु ।


रमेश साच्चै नै सोचे जस्तो त कहिले पो हुन्छ र तै पनि अहिलेको यो समय त झनै विश्वास नलाग्ने गरि मेरो सामु आयो । जुन मैले कल्पना सम्म पनि गरेको थिइन । मैले परिवारको लागी कल्पेको सपना पुरा गर्न गरेको यति लामो समयको संघर्षमा म फेल भए । युरोपको कार्ड पाउन मैले अझै केही बर्ष कुर्नु पर्ने भयो । मलाई परिवार र आफन्तसंग छिटै भेटने चाहना छ तर चाहना भन्दा ठूलो मैले मेरो सपना पुरा गरेर पारिवारिक कर्तव्य पनि त निभाउनु छ जसले गर्दा यहाँ यस्तै पिडा सहदै कहिले सम्म बस्नुपर्ने हो केही थाहा छैन । अझै धैर्यसंग बस्नुपर्ने मेरो बाध्यता छ । म यति बेला एक घाईते हरिण जस्तै छटपटाईरहेको छु । मेरा सपना छिटै पुरा नहुने गरि तुहिएका छन् । फेरि म यहाबाट पाइला निकालेर अन्त कतैतिर मोडने आट गर्न सकेकी पनि छैन । कहिले काही त अन्त कतै गएर शरणार्थी बनेर बस्नुपर्छ की जस्तो पनि लाग्छ । रमेश मेरो आजको अवस्था तिमीले पनि भोगेका थियौ । कति पिडा हुन्छ भन्ने । तिमीले मलाई आजको दिनसम्म सहारा दिदै आर्यौ । आज मलाई झन तिम्रो सहारा र सल्लाहको आवश्यकता परेको बेलामा तिमीले मलाई छाडेर जादैछौ । लाग्छ, यो जीवनमा कसैको लागी पनि अभावको महशुस गराउन सक्ने बन्न सकिन । रमेश वास्तवमा म जीवन देखि नै हरेस खाएकी छु । रुपा एकोहोरो बोलिरहदा कुरा काट्न नसकी रमेश सुनेर मात्र बसीरहे ।


जीवनमा संघर्ष गर्न हार खाएर आत्महत्या गर्नेहरुलाई मनै देखि घृणा गर्ने मेरो मन आजकल उनीहरुप्रति कताकता माया लाग्न थालेको छ । सायद म जस्तै हरेक ठाँउमा असफल भएर जिवन देखि नै वितृष्णा भएर होला जस्तै लाग्छ । रुपाको स्वर रुन्चे हुदै गयो र आँखाबाट आँसु झरिरहे । रुपा आज तिमी किन यसरी आत्तिएको । केही ढीला भएको मात्र हो, तिमी पनि तिम्रो उद्धेश्य पुरा गर्न सक्छ्र्यौ । अर्को देशमा जाने कुरा नसम्झ । त्यो सोचेजस्तो सजिलो छैन । केही बर्ष धैर्य गर । रुपाले अरु केही नबोली, रमेश अब केही समयसम्म तिमी र म टाढा हुन्छ्यौ यहि समयमा कारणवस तिमी र म सधैको लागी छुट्टियौ भने मैले तिमीबाट पाएको मित्रताको व्यवहार र मलाई दिएको संरक्षणको ऋण बोकेर जानेछु । रुपा किन तिमी यस्तो कुरा गर्दैछौं । रुपाले आँखाको आँसु पुछ्दै केही नबोली त्यहाबाट जान इशारा गरिन । दुबैजना उठेर आ–आफ्ना कोठा तिर लागे ।

त्यो दिन रमेशलाई रातभर निन्द्रा परेन । रुपा परिस्थिती संग जुधेर लड्न सक्ने शाहसिली नारी हुन् । त्यो दिन उनि किन यति धेरै निरास थिइन । हुन त परिस्थिती संग जुध्दाजुध्दै त्यस्को बाबजुद कहीले काही यो परदेशमा उदास पन हुनु, हार्न खोज्नु, मनले निर्णयलिन नसक्नु स्वाभाबिक हो भन्ने सम्झे । त्यस पछि रमेश र रुपाको भेट भएन न त फोनमा नै कुराकानी भयो । रमेश नेपाल जाने भने पछि धेरै खुशी हुदै म जान नसके पनि तिमी गए पछि मेरा परिवारलाई यहाँको बारेमा सबै भन्ने छौं त्यसपछि म जस्तै उनीहरुपनि धैर्य गरेर बस्न सक्छन् नि हैन त रमेश भनेकी थिइन ।

रमेश नेपाल जाने दिन आयो । रुपाले त्यो दिन देखि रमेशलाई केही सम्पर्क गरिनन् । रमेशले फोन लगाउदा उनको मोवाइल स्विच अफ थियो । यति बेला रुपा धेरै आत्तिएकी छन् । आज त उनले काम गरेको ठाँउमा गएर भएपनि भेटेर एकछिन सम्झाउछु भन्ने सोच्दै रुपाले काम गर्ने ठाँउमा गए । त्यहा उनले रुपालाई भेटेनन् । रुपा त अगिल्लो हप्ता नै काम छाडेर गइसकेकी रहीछन् । रमेशको मन आत्तियो । रुपाका साथीहरु संग सम्पर्क गरेर सोधे कतैबाट पनि केही पत्ता लगाउन सकेनन । म्यासेन्जर, मेल, फेसवुक बाट म्यासेज पठाए । कतैबाट पनि म्यासेजको उत्तर आएन । उनको फेसबुक स्टाटस रमेश संग भेट भएको दिन देखि नै फेरिएको थिएन ।

युरोपको कार्ड बनाएर परिवार सहित बस्ने कल्पनामा रुपाले आजसम्म गरेको संघर्ष एकैछिन अगाडीको दुर्घटनाले शुन्यमा परिणत गरायो । रुपाको अधुरो सपना उनकै शरिरको रगतसंग बाटोभरि बगीरह्यो । आठ महिना अगाडी एक दिन रुपाले रमेशलाई बोलाएर आफ्ना मनका कुराहरु भनेकी थिइन त्यो दिन नै उनीहरुको लागी अन्तिम भेट बन्यो । रमेशलाई त्यो दिनको सम्झना कुनै पर्दाको चलचित्र जस्तै उनको आँखा अगाडी आईरहे । कुनै वियोगान्त उपन्यास पढेजस्तै उनीहरुको परदेशी भूमीमा मित्रताको अधुरो कथा समाप्त भयो ।

समाप्त सीता बराल लिसवन, पोर्तुगल





साहित्यसंसार भेटवार्ता

नयाँ पोष्टहरू:

कृति समिक्षा

अन्तर्वार्ता

ब्यानर